६ मंसिर २०८३ ,आईतवार

नवरत्न लाइफ स्कुलको आयोजनामा मध्यपुर थिमिमा मौलिक मण्डः निर्माण प्रतियोगिता हुने


 

भक्तपुर । मध्यपुर थिमिमा नेपालमण्डलको मौलिक धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मौलिक मण्डः निर्माण प्रतियोगिता आयोजना हुने भएको छ।

नवरत्न लाइफ स्कुलको आयोजनामा आगामी २०८३ कार्तिक २३ गते सोमबार प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामार्फत म्हःपूजामा निर्माण गरिने मण्डःको धार्मिक, दार्शनिक तथा सांस्कृतिक महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तामा परम्परागत मण्डः निर्माणसम्बन्धी सीप र ज्ञान हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।

आयोजकले मध्यपुर थिमिका सम्पूर्ण खलः, पुचः, क्लब, समाज, टोल तथा समुदायलाई आ–आफ्नो टोलमा मौलिक मण्डः निर्माण गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।

प्रतियोगितामा मण्डःको परम्परागत मौलिकता, धार्मिक तथा सांस्कृतिक शुद्धता, कलात्मक सौन्दर्य, रङ संयोजन, संरचना, अनुपात, प्राविधिक सीप तथा प्रतीकहरूको दार्शनिक व्याख्यालगायतका आधारमा मूल्याङ्कन गरिने आयोजकले जनाएको छ ।

मण्डः निर्माणमा परम्परागत विधि, प्रतीक, रङ तथा सामग्रीको प्रयोगलाई प्राथमिकता दिइने छ। प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति, परिवार, समूह तथा संस्थाले आयोजकले निर्धारण गरेको मापदण्डअनुसार नाम दर्ता गराउनुपर्नेछ। नाम दर्ताको अन्तिम मिति २०८३ कार्तिक २० गते शुक्रबार तोकिएको छ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?