भक्तपुर । नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गर्नु उपलब्धिपूर्ण भए पनि यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बताएका छन् । उनले नेपाल सम्वत्लाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा प्रयोग गर्ने गरी स्पष्ट नीति र कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सम्वत् ११४७ को अवसरमा मंगलबार भक्तपुरमा आयोजित राष्ट्रिय विभूति एवं नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताएका हुन् । उनले नेपाल सम्वत्को प्रयोग विस्तारका लागि आवश्यक बजेट विनियोजन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गरिनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले यसलाई औपचारिक घोषणामा मात्र सीमित राख्न नहुने बताए ।
सभामुख अर्यालले शंखधर साख्वाःको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताउँदै नेपाल भाषा र नेपाल लिपिको संरक्षणमा राज्य जिम्मेवार हुनुपर्ने धारणा राखे । शंखधर साख्वाःको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि काम गर्न प्रेरणा दिने उनको भनाइ थियो ।
उनले इतिहास र संस्कृतिको संरक्षण, सार्वजनिक जीवनमा इमानदारी तथा जवाफदेहिता कायम गर्नुका साथै विविधताबीचको एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने संकल्प गर्नुपर्ने बताए ।
कार्यक्रममा सभामुख अर्यालले शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणसमेत गरेका थिए ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार









