६ मंसिर २०८३ ,आईतवार

पहिलोपटक अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागी हुँदै नृत्य निर्देशक संघ, ८ सदस्यीय टोली थाइल्यान्ड प्रस्थान


 

काठमाडौं । नृत्य निर्देशक संघ नेपालले पहिलोपटक संस्थागत रूपमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागिता जनाउने भएको छ। संघको ललितपुर जिल्ला शाखाको प्रतिनिधित्व गर्दै ८ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको हो।

ललितपुर जिल्ला शाखाका अध्यक्ष प्रदीप रमण सिंह डंगोलको संयोजकत्वमा गएको टोलीले ४३औँ थाइल्यान्ड अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव (Thailand International Folklore Festival–TIFF) मा नेपालको प्रतिनिधित्व गर्नेछ।

महोत्सवमा सहभागी हुने टोलीमा संघका निवर्तमान केन्द्रीय सहकोषाध्यक्ष भोगेन्द्र मानन्धर, ललितपुर शाखाका उपाध्यक्ष मिनर्वा शर्मा राजोपाध्याय, रचना महर्जन, कुसुम राजवंशी, कमला प्रधान, राजु महर्जन र प्रिस्का डंगोललगायत ८ जना रहेका छन्।

थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली टोलीलाई नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, सचिव कृष्ण रसाल, सहकोषाध्यक्ष चुडामणि फुयाल तथा केन्द्रीय कार्यसमिति सदस्यद्वय छिरिङ लामा र देवराज गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए।

महोत्सवमा नेपाली मौलिक कला, संस्कृति तथा लोकनृत्य प्रस्तुत गरी नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने टोलीको उद्देश्य रहेको छ।

संघले यस सहभागितालाई नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न देशका कलाकारसँग सांस्कृतिक सम्बन्ध र आदानप्रदान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?