६ मंसिर २०८३ ,आईतवार

वर्षापछि देशभरका राजमार्ग प्रभावित, पहिरो र बाढीले सडक अवरुद्ध


 

काठमाडौं । पछिल्लो समय परेको अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। बाढी र पहिरोका कारण कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।

नेपाल प्रहरीको विवरणअनुसार लुम्बिनी, कर्णाली, कोशी, बागमती, गण्डकी र उपत्यकाका विभिन्न सडकखण्डमा पहिरो तथा बाढीले यातायात आवागमन प्रभावित बनाएको छ। विशेषगरी पहाडी तथा नदी किनारका सडकखण्डमा पहिरो खस्ने र सडक कटान हुने समस्या देखिएको छ।

प्रहरीले सार्वजनिक गरेको कात्तिक १४ गते बिहान ११ बजेसम्मको विवरणअनुसार ललितपुरको कान्ति लोकपथ र बागमती करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, कोशी प्रदेशको खोटाङस्थित मध्यपहाडी लोकमार्ग हलेसी तुवाचुङ नगरपालिका–१ क्षेत्रमा पहिरोका कारण बन्द भएको छ।

बागमती प्रदेशमा मकवानपुरको कान्ति लोकपथ जोखिमका कारण वर्षा भइरहेका बेला मात्र बन्द गरिएको छ। काभ्रेको बीपी राजमार्ग रोशी गाउँपालिकाका विभिन्न स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। धादिङको पृथ्वी लोकमार्गअन्तर्गत गजुरी क्षेत्रमा सडक अवरुद्ध हुँदा आवागमन ठप्प भएको छ भने बेनीघाट रोराङ क्षेत्रमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशमा गोरखाको आरुघाट क्षेत्रमा बाढीका कारण पुलमा आवागमन बन्द भएको छ। नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कालीगण्डकी करिडोर अवरुद्ध छ। मुस्ताङको जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा वर्षाका कारण यातायात सञ्चालन हुन सकेको छैन।

लुम्बिनी प्रदेशमा गुल्मीको कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द छ भने पाल्पाको रामपुर नगरपालिका–१ क्षेत्रमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्गमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने मुगुको नाम्गा–मुगुमाडी सडक पूर्ण रूपमा अवरुद्ध छ।

यसैगरी, उपत्यकाका विभिन्न सडकखण्डमा पनि पहिरो र बाढीका कारण आवागमन प्रभावित भएको छ।

वर्षायाममा सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनले सास्ती खेप्नुपरेको छ। सडक अवरुद्ध भएका स्थानमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?