भक्तपुर । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा अघि बढाउन नीतिगत व्यवस्था गरेको जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि सरकारले बजेट विनियोजन गर्दै अघि बढ्ने नीति लिएको बताउनुभएको हो ।
मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले प्रदेशका दुई भाषालाई सरकारी कामकाजको भाषाका रूपमा अघि बढाउने नीति बनिसकेको जानकारी दिनुभयो ।
उहाँले शंखधर साख्वाः प्रतिष्ठानलाई अझै व्यवस्थित र परिस्कृत बनाउन पर्ने उल्लेख गर्दै संग्रहालयको रुपमा विस्तार तथा संवद्र्धन गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । यसै अन्तर्गत प्रदेशका १३ वटै जिल्लामा प्रतिष्ठान निर्माण गर्ने योजना अघि बढाइएको पनि उहाँले उल्लेख गर्नुभयो । यस वर्ष दोलखा जिल्लाका लागि प्रतिष्ठान निर्माण गर्न बजेट विनियोजन गरिएको उहाँको भनाइ थियो ।
प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु संघीयताको सुन्दर पक्ष भएको मुख्यमन्त्री थापा मगरले बताउनुभयो । जुन प्रदेशमा जुन भाषा र जातजातिको बाहुल्यता छ, त्यहाँको भाषा, संस्कृति र पहिचानको उत्थानका लागि बजेट विनियोजन गरिनु संघीयताको मर्म भएको उहाँको भनाइ थियो ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार









