सडक दुर्घटनाको यकिन तथ्याङ्क सङ्कलन, घाइतेको उद्धार तथा उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली स्थापना गर्ने भएको छ।
सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा दुर्घटनासम्बन्धी सम्पूर्ण विवरण एउटै डिजिटल प्लेटफर्ममा राख्ने प्रस्ताव गरिएको हो।
विधेयकको दफा ३३ मा सडक दुर्घटना अभिलेख तथा घाइतेको उद्धार व्यवस्थापन प्रणाली स्थापना र सञ्चालन गर्ने व्यवस्था उल्लेख छ। राष्ट्रिय सडक सुरक्षा परिषद्ले दुर्घटनाको अध्ययन, अनुसन्धान, न्यूनीकरणका उपायको पहिचान, मानवीय तथा भौतिक क्षतिको अभिलेखीकरण र घाइतेको उद्धारलाई व्यवस्थित बनाउन उक्त प्रणाली सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार दुर्घटनासम्बन्धी विवरण प्रणालीमा सबैभन्दा पहिले प्रविष्ट गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ। त्यसैगरी, उद्धारमा संलग्न निकाय, स्वास्थ्य संस्था, बिमा कम्पनी, सडकसम्बन्धी निकाय तथा स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रसँग सम्बन्धित तथ्याङ्क अनिवार्य रूपमा प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
विधेयकले अन्य सरकारी तथा गैरसरकारी निकायका विद्यमान डिजिटल प्रणालीलाई समेत एकीकृत गर्ने व्यवस्था प्रस्ताव गरेको छ। दफा ३३ को उपदफा ५ अनुसार आवश्यक तथ्याङ्क तोकिएको प्रक्रिया पूरा गरी स्वचालित रूपमा केन्द्रीय अभिलेख प्रणालीमा उपलब्ध गराउनुपर्नेछ।
एकीकृत प्रणाली सञ्चालनमा आएपछि सडक दुर्घटनाको वास्तविक अवस्था, घाइतेको उपचार, उद्धार तथा बिमा दाबी भुक्तानीसम्बन्धी विवरण एकै ठाउँबाट प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, तथ्याङ्कमा आधारित सडक सुरक्षा नीति निर्माण तथा फर्जी बिमा दाबी नियन्त्रणमा समेत यसले सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार









