६ मंसिर २०८३ ,आईतवार

६५औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न


गैरनेवार विद्यार्थीले नेपाल भाषामा रचना सुनाउँदा ६५औँ विराट नेपाल भाषा साहित्य सम्मेलनमा गुञ्जियो ताली

भक्तपुर  “जिगु नां करुणा शाह ख। जी न्हेगु तकिमे बोना च्वना। जिगु च्वसु यु नां ख इन्द्र जात्रा।”

गैरनेवार विद्यार्थी करुणा शाहले फरर नेपाल भाषामा आफ्नो रचना वाचन गर्दा ६५औँ विराट नेपाल भाषा साहित्य सम्मेलनमा उपस्थित दर्शक तथा श्रोताहरू आश्चर्यचकित भए। उनको सहज र स्पष्ट वाचनले सबैको ध्यान खिच्यो।

करुणाले रचना वाचन गरिसकेपछि उद्घोषकले उनको नाम दोहोर्‍याउँदै गैरनेवार भएर पनि नेपाल भाषामा लेखिएको रचना सहज रूपमा वाचन गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले करुणाको हौसला बढाउन दर्शक तथा श्रोताहरूलाई ताली बजाउन आग्रह गर्नुभयो। त्यसबेला विराट नेपाल भाषा साहित्य गुथीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य पनि गौरवान्वित देखिनुहुन्थ्यो।

शुक्रबार सम्पन्न सम्मेलनमा करुणासँगै काठमाडौँ महानगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूले नेपाल भाषामा आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा सहभागी साहित्यकारहरूले नेपाल भाषामा कविता, गजल, लघुकथा तथा कथा वाचन गरेका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै गुथीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले विराट नेपाल भाषा साहित्य सम्मेलन एउटा कार्यक्रम मात्र नभई भाषा संरक्षण र प्रवर्द्धनको आन्दोलन तथा अभियान भएको बताउनुभयो। गैरनेवार विद्यार्थीले समेत नेपाल भाषामा रचना वाचन गर्न सक्नु लामो संघर्षको उपलब्धि भएको उहाँको भनाइ थियो।

काठमाडौँ महानगरपालिकाले विद्यालयको स्थानीय पाठ्यक्रममा नेपाल भाषालाई समावेश गर्नु तथा बागमती प्रदेशमा नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था हुनुजस्ता उपलब्धि छोटो समयको प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै उहाँले यी उपलब्धि लामो संघर्षको परिणाम भएको बताउनुभयो। उहाँले नेपाल भाषा संरक्षण र प्रवर्द्धनको अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

हरेक वर्ष विजया दशमीको पर्सिपल्ट अर्थात् द्वादशी तिथिमा आयोजना हुँदै आएको सम्मेलन यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल भाषाकी प्राध्यापक, साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयको नेपाल भाषा केन्द्रीय विभागकी पूर्वविभागीय प्रमुख प्रेम शान्ति तुलाधरलाई विशेष सम्मान प्रदान गरिएको थियो। नेपाल भाषा, साहित्य तथा समालोचनाको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको गुथीका अध्यक्ष कर्माचार्यले बताउनुभयो।

प्रतियोगितात्मक सम्मेलनका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। त्यस्तै, स्नातकोत्तर तहमा नेपाल भाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सकुन्तला महर्जन र भिक्षु सोम रत्न महर्जनलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।


प्रकाशित मिति: ६ कार्तिक २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?