१६ असोज भक्तपुर । भक्तपुर र यहाँको मौलिकता, डाफा भजनका धुन र शब्दलाई उनले टपक्क टिपे । आफ्ना गीत र संगीतमा तिनै मौलिकतालाई पस्किए । नेवारी लवज र निश्कपटक हाँसोले सबैलाई मन्त्रमुग्ध पारे । दर्शक र श्रोतालाई भगवानको दर्जा दिए अनि देश विदेशमा सांगितिक प्रस्तुती दिएर सबैको मन जिते । तर आफ्नै जन्म स्थान भक्तपुरमा भने त्यो अवसर पाएका थिएनन् वा भनौँ उनि यति व्यस्त भए कि भक्तपुरमा कार्यक्रम आयोजनाका लागि आयोजकले समय माग्दा पनि उनले फुर्सदै पाएनन् । उनि अर्थात भक्तपुरका कुमा सागर । उनै कुमा सागरको कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिने तय भएको छ । मङ्सिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने भब्य च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ मा कुमा सागरको ब्यान्डले प्रस्तुती दिन लागेका हुन् ।
कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले पनि प्रस्तुति रहनेछन्। उक्त कार्यक्रम भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ। कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।
कार्यक्रममा संगीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।
‘म्युजिक जात्रा–ख्वपः’को मुख्य प्रायोजकको रुपमा ‘एक्सट्रीम एनर्जी ड्रिंक’ रहेको छ । कार्यक्रम हेर्न दर्शकले टिकटको सत्तामा ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाकारी दिएको छ ।
‘म्युजिक जात्रा–ख्वपः’लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ। कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनस्र्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिने पनि जानकारी गराएको छ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओ लाई प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार


