१६ आश्विन २०८३, शुक्रबार

चाडबाडमा हुने आपराधिक गतिविधि निगरानी ड्रोनबाट


१६ असोज काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुन सक्ने सुरक्षा जोखिम रोकथाम तथा न्युनिकरणका लागि ड्रोनबाट निगरानी गर्ने भएको छ । परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी विशेष सुरक्षा योजना सार्वजनिक गर्ने क्रममा ड्रोनबाट निगरानी गरिने जनाएको हो । काठमाडौंका एसएसपी दीलिप घिमिरेले विशेष सुरक्षा योजना आजैबाट लागू भएको जानकारी दिँदै डेढ महिना अर्थात ३० कात्तिकसम्म जारी रहने जानकारी दिए ।

दसैं, तिहार तथा छठमा हुनसक्ने अपराधजन्य कार्यलाई रोकथाम तथा न्यूनिकरण गर्न भन्दै प्रहरीले विशेष योजना लागू गरेको हो । चाडपर्वमा पटका, अतिसबाजी, आगलागी, मदिरा सेवनपछि सवारी दुर्घटना, नक्कली टिकट, यात्रु ठगी, चोरी, पाकेटमारी, जुवातास, लंगुरबुर्जा जस्ता गतिविधि हुनसक्ने औंल्याइएको छ ।

एसएसपी घिमिरेले पत्रकार सम्मेलनमा भने, ‘सुरक्षाका लागि ड्रोनदेखि कुकुरसम्म परिचालन गरेर काठमाडौं सुरक्षित बनाउने हाम्रो प्रयास हुनेछ’ ।

परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाका अनुसार चाडबाडमा हुनसक्ने यस्ता आपराधिक गतिविधि रोक्नका लागि काठमाडौं परिसरले ३ हजार ५०६ प्रहरी परिचालन गर्नेछ । जसमा तालुक कार्यालयबाट थप मतको रुपमा १९० जना परिचालन हुने बताइएको छ । प्रहरीहरू बढी संवेदनशील तथा जोखिम रहेका क्षेत्रहरू मठ मन्दिर तथा धार्मिक स्थलहरू, न्यूरोड, असन जस्ता व्यापारिक र भीडभाड हुने क्षेत्रहरूमा, यातायाताको काउन्टर भएका ठाउँहरू, बजार क्षेत्र तथा बैंक तथा वित्तिय क्षेत्रहरू जस्ता ठाउँहरूमा प्रहरी ठूलो मात्रामा परिचालन गरिने बताइएको छ ।

त्यसैगरी १ हजार २४२ स्थानमा राखिएका सीसीक्यामेराबाट पनि निगरानी हुने छ ।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार नागरिकको सुरक्षाका लागि जनचेतनामुलक कार्यक्रम संचालन, मोबाइल गस्ती, पैदल गस्ती, सादा पोशाकमा सुरक्षाकर्मी परिचालन लगाययतका योजना समेत रहेका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?