२५ असोज काठमाडौं बाढीले सडक सम्पर्क विच्छेद भएको ४५ दिनपछि बेत्रावतीमा एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ।
नेपाली सेनाले निर्माण गरेको पुल आइतबार उद्घाटन भएसँगै रसुवा–नुवाकोटको आवागमन सहज हुने अपेक्षा गरिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको भीषण बाढीका कारण अवरुद्ध सडक यातायात पुनः सञ्चालनमा ल्याउने उद्देश्यले नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीमा एक्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको पुलको नेपाली सेनाले आइतबार उद्घाटन गरेको हो।
बेत्रावतीस्थित फलाखु खोलामाथि निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनःस्थापना गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, यात्रु तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ।
नेपाली सेनाले निर्माण सम्पन्न गरेको पुल गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरणसमेत गरेको छ।पुल निर्माणका लागि करिब ३०० मिटर सडक पहुँचमार्ग तयार पारिएको थियो। आवश्यक सामग्री निर्माणस्थलसम्म पुर्याएपछि सेनाको प्राविधिक टोलीले पुल जडानको काम अघि बढाएको थियो।
उक्त बेली ब्रिज करिब ७२ मिटर अर्थात् २४० फिट लामो रहेको र ६० टनसम्म भार वहन गर्न सक्ने क्षमताको रहेको जनाइएको छ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार









