२५ असोज, भक्तपुर सूर्यविनायक नगरपालिकाको आयोजनामा सुरु भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं ८ र वडा नं ६ ले विजयी
सुरुवात गरेका छन् ।
वडा नं १० चित्तपोलस्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडा नं ८ ले वडा नं २ लाई ४–२ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्यस्तै आजै भएको अर्को खेलमा वडा नं ६ ले वडा नं ७ लाई २–१ गोलले पराजित गरेको छ ।
प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले गर्नुभएको थियो । वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख वासुदेव थापाले खेलकुद विकासलाई नगरपालिकाले महत्वका साथ प्राथमिकतामा राखेको बताउनुभयो।
कार्यक्रममा विभिन्न वडाका वडा प्रमुखहरुको पनि उपस्थिति थियो । उपस्थित सबै जनप्रतिनिधिहरुले खेलाडिहरुलाई शुभकामना व्यक्त गर्नुभयो । ३० गतेसम्म संचालन हुने प्रतियोगितामा नगरपालिका भित्रका १० वटै वडाहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले नगद ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ र चौथो हुनेले नगद १० हजार सहित ट्रफी मेडल तथा प्रमाण प्राप्त गर्ने नगर खेलकुद विकास समितिका सचिव दिपक थापाले बताउनुभयो ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार









