२९ असोज भक्तपुर सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको छ।
नगरपालिका कार्यालय परिसरमा विहिबार भब्य समारोहका बीच नगरपालिकालाई बालमैत्री शासनयुक्त घोषणा गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव कमलप्रसाद भट्टराईले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको प्रमाणपत्र नगरप्रमुख बासुदेव थापालाई हस्तान्तरण गर्नुभएको थियो।
योसँगै काठमाडौँ उपत्यका सूर्यविनायक नगरपालिका बालमैत्री शासनयुक्त नगर घोषणा हुने दोस्रो नगर बनेको छ । यसअघि चाँगुनारायण नगरपालिका २०७८ फागुन २८ गते बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मानव विकासलाई प्राथमिकतामा राखेर बालमैत्री अभियानलाई सफल बनाउनु उल्लेखनीय कार्य भएको बताउनुभयो ।
मुख्यमन्त्री थापाले बालमैत्री स्थानीय शासनको उपलब्धिलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिँदै यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको उपलब्धिलाई दिगो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै बालबालिकाको अधिकार संरक्षण तथा उनीहरूको समग्र विकासका लागि नगरपालिका प्रतिबद्ध भएर अघि बढ्ने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नम्बर २ का अध्यक्ष प्रदीप कार्कीलगायतले आफ्ना धारणा राख्न्ुभएको थियो । करिब तीन वर्षको निरन्तर प्रयासपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने अभियानलाई लक्ष्यमा पु¥याउन सफल भएको उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा बालबालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति पस्किएका थिए । समारोहमा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, कर्मचारी, बालबालिका, सरोकारवाला तथा नगरवासीहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहीबार









