६ मंसिर २०८३ ,आईतवार

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका फरार दोषी बाबु थापा सर्लाहीबाट पक्राउ


 

२९ असोज काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार राति बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो। सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले थापा घरमा आएको सूचनाका आधारमा खोजी गरी पक्राउ गर्न सफल भएको जानकारी दिए।

थापाको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियार तथा गोलीसम्बन्धी कसुरमा उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।

थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए।

त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ। भेष बदलेर बस्ने तथा आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो।

न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो समयको खोजीपछि पक्राउ परेका थिए। प्रहरीले दुई वर्ष सात महिनासम्म निगरानी र खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरस्थित यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो। बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा उनको गाडी रोकी गोली प्रहार गरिएको थियो।


प्रकाशित मिति: २९ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?