६ मंसिर २०८३ ,आईतवार

शिक्षकको मृत्यु पछि उदयपुर कटारीमा तनाव, यातायात प्रभावित


काठमाडौं । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन्।

आइतबार बिहानैदेखि स्थानीयवासीले कटारीको बुद्धचोकस्थित मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका हुन् । प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक तथा स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ गम्भीर घाइते भएका थिए। घाइते श्रेष्ठको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदर्शनकारीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।
।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले दुर्घटनामा संलग्न हायस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

स्थानीयवासीको प्रदर्शनका कारण राजमार्गमा यातायात आवागमन प्रभावित भएको छ।


प्रकाशित मिति: १ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?