६ मंसिर २०८३ ,आईतवार

बेलायतको विद्यार्थी भिजाका लागि आर्थिक मापदण्ड बढ्दै, नेपाली विद्यार्थी थप दबाबमा


काठमाडौं । बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीले अब जीवनयापन खर्च धान्न पर्याप्त रकम आफूसँग रहेको प्रमाणित गर्नुपर्ने भएको छ। बेलायतको गृह मन्त्रालयले आगामी नोभेम्बर ३० देखि विद्यार्थी भिजाका लागि आवश्यक आर्थिक मापदण्ड बढाउने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार लन्डनभित्र र बाहिर अध्ययन गर्ने विद्यार्थीले आफ्नो जीवनयापन खर्चका लागि पहिलेभन्दा बढी रकम देखाउनुपर्नेछ।

हाल लन्डनमा अध्ययन गर्ने विद्यार्थीले प्रतिमहिना १ हजार ५ सय २९ पाउन्डका दरले अधिकतम नौ महिनासम्मको खर्च धान्न सक्ने रकम देखाउनुपर्छ। नोभेम्बर ३० देखि यो रकम बढेर प्रतिमहिना १ हजार ५ सय ७० पाउन्ड पुग्नेछ। यसअनुसार नौ महिनाका लागि आवश्यक रकम १३ हजार ७ सय ६१ पाउन्डबाट बढेर १४ हजार १ सय ३० पाउन्ड हुनेछ।

त्यस्तै, लन्डनबाहिर अध्ययन गर्ने विद्यार्थीका लागि पनि आर्थिक मापदण्ड बढाइएको छ। हाल प्रतिमहिना १ हजार १ सय ७१ पाउन्ड आवश्यक पर्नेमा नयाँ व्यवस्थाअनुसार १ हजार २ सय ३ पाउन्ड देखाउनुपर्नेछ। यसले गर्दा नौ महिनाका लागि आवश्यक रकम १० हजार ५ सय ३९ पाउन्डबाट बढेर १० हजार ८ सय २७ पाउन्ड पुग्नेछ।

विश्वविद्यालयको शुल्कबाहेक आवश्यक पर्ने यो रकमलाई ‘मेन्टेनेन्स रिक्वायरमेन्ट फन्ड’ भनिन्छ। यसबाहेक विद्यार्थीले भिजा आवेदन शुल्क र इमिग्रेसन हेल्थ सरचार्जसमेत छुट्टै तिर्नुपर्ने हुन्छ।

उपलब्ध तथ्यांकअनुसार सन् २०२४/२५ मा बेलायतका उच्च शिक्षा प्रदायक संस्थामा ६ लाख ८५ हजार ५ सय ६५ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत थिए। यो कुल विद्यार्थी संख्याको करिब २४ प्रतिशत हो। तीमध्ये ६३ हजार ६ सय विद्यार्थी युरोपेली संघका सदस्य राष्ट्रबाट आएका थिए भने करिब ६ लाख २२ हजार विद्यार्थी संघबाहिरका मुलुकका थिए।

चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट एन्ड रिसर्चका डीन प्राध्यापक पदम सिम्खडाका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतको अर्थतन्त्र र उच्च शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनका अनुसार बेलायतमा हाल करिब २८ लाख ६० हजार विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब सात लाख अन्तर्राष्ट्रिय विद्यार्थी छन्।

सन् २०२१/२२ मा अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती अर्थतन्त्रमा ४१ अर्ब ९० करोड पाउन्ड योगदान पुर्‍याएका थिए। यसमध्ये शुद्ध आर्थिक लाभ ३७ अर्ब ४० करोड पाउन्ड रहेको बताइएको छ।

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने प्रमुख मुलुकमध्ये नेपाल पाँचौँ स्थानमा रहेको प्राध्यापक सिम्खडाले बताएका छन्। भारत, चीन, पाकिस्तान र नाइजेरियापछि नेपालबाट बेलायत जाने विद्यार्थीको संख्या उच्च रहेको छ।

उनका अनुसार सन् २०२५ को डिसेम्बरसम्मको एक वर्षमा १९ हजार ५ सय ५३ नेपाली विद्यार्थीले बेलायतको अध्ययन भिजा प्राप्त गरेका थिए। सन् २०२६ मा पनि सयौँ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेका छन्।

यद्यपि, बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले बढ्दो महँगी, रोजगारीका सीमित अवसर र अध्ययनको चापका कारण आर्थिक तथा शैक्षिक चुनौती सामना गरिरहेका छन्। विशेषगरी पार्टटाइम कामबाट हुने आम्दानीले दैनिक खर्च र कोठाभाडा धान्न कठिन हुने तथा नेपालबाट लिएको ऋणको भारसमेत व्यहोर्नुपर्ने अवस्थाले उनीहरूलाई थप दबाबमा पारेको छ।

बेलायतको नयाँ आर्थिक मापदण्ड लागू भएपछि अध्ययनका लागि जाने नेपाली विद्यार्थीले भिजा आवेदन दिनुअघि आवश्यक रकमको व्यवस्था गर्न थप तयारी गर्नुपर्ने देखिएको छ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?