६ मंसिर २०८३ ,आईतवार

गैरदलीय स्थानीय निर्वाचन र प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपालको माग


 

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचन प्रणालीमा सुधार तथा प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो।

पार्टीले स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनभन्दा माथि राख्दै जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित गर्न गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने जनाएको छ। स्थानीय तहको नेतृत्व चयन गर्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको धारणा छ।

त्यसैगरी, वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि पार्टीले आग्रह गरेको छ।

यसका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक, सुरक्षित मतदान विधि र आवश्यक कानुनी तथा प्राविधिक पूर्वाधार तयार गर्नुपर्ने माग गरिएको छ।

उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचनअघि नै आवश्यक अध्ययन, कानुनी सुधार र कार्यान्वयनको समयबद्ध कार्ययोजना तयार गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।


प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?