काठमाडौं । विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासम्बन्धी अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण तथा प्रमाण सार्वजनिक गर्दा आधिकारिकता पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ।
सापकोटासँग ‘कनेक्सन भेटिएको’ भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) सहित विभिन्न व्यक्तिको नाम जोडेर समाचार प्रकाशित हुन थालेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै सापकोटाको मुद्दासँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरीका अनुसार अनुसन्धान अधिकृतलाई सूचनाको स्रोतका रूपमा उल्लेख गर्दै अनुसन्धानसँग सम्बन्धित विषयहरू सञ्चारमाध्यममा सार्वजनिक भएको पाइएको छ। उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको प्रहरीले स्पष्ट पारेको छ।
अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको उल्लेख गर्दै प्रहरीले अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ।
प्रहरीले अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई ध्यानमा राखेर समाचार तथा सामग्री प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण गर्दा त्यसको आधिकारिकता पुष्टि गर्न पनि प्रहरीले अनुरोध गरेको छ। अपुष्ट सूचना सार्वजनिक हुँदा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै कानुनी व्यवस्थाको पालना गर्न परिसरले सचेत गराएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार









