६ मंसिर २०८३ ,आईतवार

शिक्षा तथा प्रदेश विश्वविद्यालयसम्बन्धी सम्मेलन हेटौँडामा सुरु


 

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा शिक्षा तथा प्रदेश विश्वविद्यालय सम्बन्धी दुई दिने सम्मेलन सुरु भएको छ ।

शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा प्रदेशहरूबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गर्नुभभयो । सम्मेलनमा विभिन्न प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री, विश्वविद्यालयका उपकुलपति, कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षासम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो ।

सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका असल अभ्यास, उपलब्धि र चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । साथै, प्रदेशहरूबीच शैक्षिक सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल गरिनेछ ।

सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, संघ तथा प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर सुधारलगायत विषयमा छलफल हुने जनाइएको छ ।

त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव तथा स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासका लागि सहकार्यका क्षेत्र पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?