काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै युनियनले यस्तो चेतावनी दिएको हो । युनियनले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार तथा अस्थायी शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीलगायत सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीको पेसागत निरन्तरता सुनिश्चितसहित स्थायीसरह सेवासुविधा माग गरेको हो।
युनियनले समान कामका आधारमा सबै शिक्षक–कर्मचारीमाथि न्यायोचित व्यवहार हुनुपर्ने उल्लेख गर्दै प्रचलित श्रम कानुनअनुसार पाउनुपर्ने बिदा, उपचार सुविधा, दुर्घटना बिमा, उपदानलगायत सेवासुविधा सुनिश्चित गर्न माग गरेको छ ।
युनियनका अध्यक्ष विष्णु खत्रीले लामो समयदेखि सेवा गर्दै आएका अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीको योगदान र अनुभवको सम्मान गर्दै सम्बन्धित कानुन संशोधन गरी उमेर हद हटाइ खुला प्रतिस्पर्धामा सहभागी हुने अवसर सुनिश्चित गर्नुपर्नेे बताउनुभयो ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार









