भक्तपुर । सूर्यविनायक नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन तथा प्रमाणीकरण गरी पठाउन मातहतका सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले बिहीबार पत्र जारी गर्दै बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी उपलब्ध गराउन वडा कार्यालयहरूलाई आग्रह गरेको हो।
नगरपालिकाका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरको पत्र तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण यकिन गर्ने प्रक्रिया अन्तर्गत आवश्यक काम अघि बढाउन भनिएको हो। सोही क्रममा नेपाली नागरिकको हकमा क्रम संख्या १ देखि ७ सम्मका चरण तथा प्रक्रिया पूरा गरी बेपत्ता व्यक्तिहरूको विवरण तयार गर्नुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिको विवरण यकिन गर्न पाँच दिनको समयावधि तोकी सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ। त्यसपछि एकाघरका परिवारका सदस्यबाट बेपत्ता व्यक्तिको परिचय खुल्ने कागजात, नाता प्रमाणित गर्ने कागजात, निवेदन तथा स्वघोषणासहितका आवश्यक विवरण संकलन गर्नुपर्नेछ।
त्यस्तै, परिवारका सदस्य उपलब्ध नभएको अवस्थामा वडा अध्यक्ष, वडा सचिव र स्थानीय प्रहरीको रोहवरमा सर्जमिन मुचुल्का तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। संकलित निवेदन तथा कागजातको जाँचबुझ गरी वडा समितिबाट सिफारिस भएपछि स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ।
नगरपालिकाले सम्बन्धित वडा कार्यालयहरूलाई आवश्यक प्रक्रिया पूरा गरी बेपत्ता व्यक्तिहरूको स्वीकृत तथा प्रमाणित अन्तिम विवरण तोकिएको समयसीमाभित्र नगर कार्यपालिकाको कार्यालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।
यसैबीच नगरपालिकाको निर्देशन अनुसार सम्बन्धित वडा कार्यालयहरुले पनि वेपत्ताहरुको आधिकारिक विवरण संकलनका लागि पहल थालेको छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार









