बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल भवन उद्घाटन गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाउँदा एक जना स्थानीय घाइते भएका छन्।
फेटा गाउँपालिका–३ मा रहेको नवनिर्मित अस्पताल भवनको उद्घाटनलाई लिएर स्थानीयवासी र सम्बन्धित पक्षबीच विवाद भएको बताइएको छ। विवाद बढ्दै गएपछि स्थिति तनावपूर्ण बनेको थियो।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको र प्रहरीको गोली लागेर एक जना स्थानीय घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनापछि स्थानीयवासीले प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाएका छन्। सामान्य विवादलाई नियन्त्रणमा लिन गोली चलाउनुपर्ने अवस्था किन आयो र गोली चलाउने आदेश कसले दिएको हो भन्ने विषयमा स्थानीयले प्रश्न उठाएका छन्।
घटनाबारे प्रहरी प्रशासनको आधिकारिक प्रतिक्रिया, घाइतेको पहिचान तथा स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार









