६ मंसिर २०८३ ,आईतवार

मेट्रो रेल सञ्चालनबारे मध्यपुर थिमिद्वारा JICA टोलीसँग छलफल


 

भक्तपुर । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप तथा ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सहज बनाउने उद्देश्यले प्रस्तावित मेट्रो रेल सञ्चालनसम्बन्धी अध्ययनका क्रममा मध्यपुर थिमि नगरपालिकामा छलफल भएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA)को प्राविधिक सहयोगमा भइरहेको मेट्रो रेलको पूर्वसम्भाव्यता अध्ययनका क्रममा शुक्रबार (कात्तिक १३ गते) नगरपालिकामा छलफल गरिएको हो।

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउने तथा बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्ने लक्ष्यसहित अघि बढाइएको अध्ययनमा प्रस्तावित रेलमार्ग, सम्भावित रुट, स्टेशन, यात्रुको चाप तथा स्थानीय तहमा पर्ने प्रभावलगायत विषय समेटिएका छन्।

प्रारम्भिक अवधारणाअनुसार रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म करिब १४.६ किलोमिटर लामो पूर्व–पश्चिम मेट्रो रेलमार्ग प्रस्ताव गरिएको छ। उक्त मार्गले काठमाडौं महानगरपालिकासहित मध्यपुर थिमि, भक्तपुर र सूर्यविनायक क्षेत्रलाई जोड्ने अवधारणा अघि सारेको छ।

अध्ययनका क्रममा रेलमार्ग निर्माणको प्राविधिक तथा आर्थिक सम्भाव्यता, आवश्यक लगानी, वातावरणीय प्रभाव र विद्यमान सडक तथा अन्य पूर्वाधारसँगको समन्वयबारे विश्लेषण गरिनेछ।

JICA को अध्ययन प्रतिवेदनका आधारमा प्रस्तावित मेट्रो रेल परियोजनाको सम्भाव्यता तथा कार्यान्वयनको आगामी प्रक्रिया तय हुने अपेक्षा गरिएको छ।

छलफलमा नगरपालिकाका उप प्रमुख विजय श्रेष्ठसहित वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?