पत्रकारमाथि प्रहरीको धरपकड भएको घटनालाई लिएर चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लुडो खेल र यसको महत्वबारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। प्रधानमन्त्रीको उक्त पोस्टलाई लिएर पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न टिप्पणी र व्यंग्य गरेका छन्।
प्रहरी प्रवक्ताले राति 1.40 AM मा लेखेको ग्रुप मेसेज भर्खरै whatsapp बाट डिलिट गरेका छन् ।
मेसेज हिजोको धरपकड बारे थियो।
अनि, प्रम बालेनले भर्खरै लुडो खेल र यसको महत्वबारे फेसबुकमा पोस्ट गरेका छन् ।
(Facebook र whatsapp भन्ने शब्दलाई वाक्यमा प्रयोग गर्दा)

यो पत्रकार तथा अनलाइन खबरका सम्पादक बसन्त बस्नेतको पोष्ट हो जुन प्रधानमन्त्रीको लुडो पोस्ट पछि आएको थियो ।
बस्नेतले प्रहरी प्रवक्ताले राति १:४० बजे समूहगत सन्देशमा पत्रकारमाथिको धरपकडबारे लेखेको विवरण केही समयपछि हटाएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीको लुडो पोस्टलाई व्यंग्यात्मक रूपमा जोडेका छन्।
प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्, ‘के तपाईंलाई थाहा छ, नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन्रु संसारकै सबैभन्दा चर्चित लुडो (२०० मिलियनं) र कलब्रेक गेम १५० मिलियन नेपालीले नै बनाएका हुन्।’
प्रधानमन्त्रीको उक्त पोस्ट नेपाली गेम डेभलपर्स र सूचना प्रविधि क्षेत्रको सम्भावनाबारे युवालाई प्रोत्साहित गर्ने उद्देश्यले आएको देखिन्छ। पोस्ट सार्वजनिक भएपछि धेरै युवाले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। यो समाचार तयार पार्दासम्म उनको पोस्टमा हजारौँ लाइक र कमेन्ट आइसकेका थिए। प्रधानमन्त्रीको पोस्टलाई आधार बनाएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण हुने क्रम पनि जारी छ।
तर, प्रधानमन्त्रीको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहँदा उता माइतीघरमा भने पत्रकारहरू प्रहरीको धरपकडविरुद्ध वर्षाको पर्वाह नगरी आन्दोलनमा थिए। प्रधानमन्त्रीकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पनि चलिरहेको थियो। शुक्रबार सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनापछि सामाजिक सञ्जालमा सरकारको कार्यशैली, मनोमानी र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउँदै आलोचना भइरहेको थियो।
काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेझैँ देशमा सम्बोधन गर्नुपर्ने हजारौँ विषय हुँदाहुँदै प्रधानमन्त्रीको यस्तो पोस्ट सार्वजनिक भएपछि त्यसले थप प्रश्न जन्माएको छ। पत्रकारमाथि भएको धरपकडको विरोध चर्किरहेका बेला सरकारको ध्यान कुन विषयमा केन्द्रित छ भन्ने प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेको छ।
यसैबीच, अर्का पत्रकारले पनि सरकारको गतिविधिलाई लुडो खेलसँग तुलना गर्दै व्यंग्य गरेका छन्। उनले सरकारी कोषमा योगदान गरेका नागरिकले दुई महिनामै भोटेकोशी बाढीपीडितको पीडा बिर्सिएको भन्दै विपद्बाट प्रभावित नागरिकको अवस्थाप्रति ध्यानाकर्षण गराएका छन्।
जेन जी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्रीलाई व्यंग्य गर्दै लेखेकी छिन् , ‘देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको सम्पूर्ण श्रेय पनि आफैँ लिनुहोस् प्रधानमन्त्रीज्यू, उनले स्टाटसमा लेखेकी छिन् न जनताप्रति कुनै उत्तरदायित्व छ, न त कुनै डर छ, न सदन प्रति नै जवाफदेहिता। कहिले मिडिया हाउसअगाडि गाडी तेर्स्याउने, कहिले अधिकारकर्मीमाथि हातपात गर्ने, कहिले कसैका हातखुट्टा भाँच्दिने धम्की दिने, त कहिले न्युजरुमबाटै पत्रकार उठाएर लैजाने’ एकपछि अर्को अलोकतान्त्रिक काण्ड घटाएर विषयान्तर गर्ने” ।

प्रधानमन्त्रीको पोस्टमा प्रतिक्रिया जनाउने अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि पत्रकार पक्राउको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने, प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने र समसामयिक समस्याबाट ध्यान अन्यत्र मोड्न नहुने धारणा व्यक्त गरेका छन्।
नेपाली युवाले निर्माण गरेका गेमले अन्तर्राष्ट्रिय बजारमा सफलता हासिल गर्नु र नेपालको गेमिङ तथा सूचना प्रविधि क्षेत्रको सम्भावनाबारे चर्चा हुनु आफैँमा सकारात्मक विषय हो। तर, देशमा पत्रकारमाथि प्रहरी धरपकड भएको घटनाले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको प्राथमिकता र अभिव्यक्तिलाई लिएर बहस हुनु स्वाभाविक देखिन्छ। आखिर लुडोमा जित र हारको चर्चा भइरहँदा नागरिकले भने सरकारबाट आफ्नो सुरक्षा, स्वतन्त्रता र समस्याको सम्बोधन खोजिरहेका छन्।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार









