६ मंसिर २०८३ ,आईतवार

एनप्याब्सनलाई विशेष अधिवेशन नगर्न गृह मन्त्रालयको निर्देशन


 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई विशेष अधिवेशन नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले एनप्याब्सन काठमाडौंलाई पत्र पठाउँदै अर्को निर्णय नभएसम्मका लागि विशेष अधिवेशन नगर्न/नगराउन निर्देशन दिएको हो ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम नेपाल सरकारको २०८३ कात्तिक १३ गतेको निर्णयअनुसार यस्तो निर्देशन दिइएको पत्रमा उल्लेख छ ।

एनप्याब्सनले २०८३ कात्तिक १४ र १५ गते आयोजना गर्ने भनिएको विशेष अधिवेशन तत्कालका लागि स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यसअघि पनि गृह मन्त्रालयले एनप्याब्सनलाई सांगठनिक रूपमा कुनै पनि कार्यक्रम गर्न नपाउने गरी निलम्बन गरेको थियो । यससँगै मन्त्रालयले पुनः विशेष अधिवेशन रोक्न निर्देशन दिएपछि एनप्याब्सनको सांगठनिक गतिविधि थप प्रभावित हुने देखिएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?