६ मंसिर २०८३ ,आईतवार

‘२८ जनामा नपर्ने पनि के पत्रकार!’ – कुमार बेन


काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको एउटा फेसबुक टिप्पणी अहिले चर्चामा आएको छ।

पत्रकार पक्राउ प्रकरणसँग जोडिएको २८ जना पत्रकारको कथित सूचीबारे टिप्पणी गर्दै बेनले २० जना पत्रकारलाई मेन्सन गरेका छन्।

उनले लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’

बेनले मेन्सन गरेका पत्रकारहरूमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेत, टीकाराम यात्री, कान्तिपुर टेलिभिजनका समाचार प्रमुख रुपेश श्रेष्ठ, गोकर्ण अवस्थी, राजु घिसिङलगायत छन्।

बेनको उक्त पोस्टमा प्रधानमन्त्री बालेन्द्र शाहले समेत टिप्पणी गर्दै लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार ?’

पत्रकार पक्राउ प्रकरण र २८ जनाको कथित सूचीबारे बहस भइरहेका बेला प्रधानमन्त्री र उनका प्रमुख राजनीतिक सल्लाहकारको टिप्पणीले सामाजिक सञ्जालमा थप चासो पैदा गरेको छ। यद्यपि, मेन्सन गरिएका पत्रकारहरू कथित २८ जनाको सूचीमा रहेको पुष्टि भएको छैन।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?