६ मंसिर २०८३ ,आईतवार

प्रधानमन्त्रीको चेतावनीपूर्ण स्टाटस : कसको गलत समय आउँदैछ ?


काठमाडौं । प्रधानमन्त्री बालेन शाह हत्तपत्त बोल्दैनन् । बोल्नै पर्दा पनि छोटोमै आफ्नो भनाइ टुंग्याउँछन् । तर सामाजिक सञ्जालमा भने बोलिरहन्छन् । उनका स्टाटसमा पोस्ट गरेको क्षणभरमै लाइक, कमेन्ट र सेयरको वर्षा नै हुन्छ । कतिपयले त बालेनले सरकार सञ्चालनसमेत सामाजिक सञ्जालबाटै गरिरहेका छन् भन्नेसम्मको टिप्पणी गर्न थालिसकेका छन् ।

तर बालेन भने रोकिएका छैनन् । फेसबुकबाटै चेतावनी दिन्छन्, फेसबुकबाटै सहानुभूति र सर्कुलर जारी हुन्छ भने व्यङ्ग्यको त कुरै नगरौँ ।

पत्रकारहरूमाथिको धरपकड, न्यायाधीशहरूमाथिको छानबिनलगायतका घटनाक्रममा बालेन अर्थात् सरकारको धारणा के छ भन्ने सबैलाई चासो छ । तर प्रधानमन्त्री भने फेसबुकबाटै चेतावनी जारी गर्नुहुन्छ, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’

उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन् ।

बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क र मिडिया हाउसमा प्रहरी परिचालनको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि कमेन्ट गरेका छन् । उनले प्रधानमन्त्रीलाई ‘सही समय कहिले आउँछ ?’ भनेर प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?