६ मंसिर २०८३ ,आईतवार

पारदर्शिताका लागि सूर्यविनायक नगरपालिकाद्वारा बोलपत्र खोल्ने प्रक्रिया पहिलोपटक प्रत्यक्ष प्रसारण


 

भक्तपुर । सूर्यविनायक नगरपालिकाले विकास निर्माणसम्बन्धी १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया पहिलोपटक प्रत्यक्ष प्रसारण (लाइभ) गरेको छ ।

सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने उद्देश्यले नगरपालिकाले बोलपत्र खोल्ने तथा मूल्याङ्कन गर्ने कार्यलाई भिडियो रेकर्डिङसहित अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गरेको हो । प्रत्यक्ष प्रशारण नमस्ते ख्वप टेलिभिजन बाट भएको थियो ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार १३ वटा ठेक्काका लागि कुल ९ सय ४७ वटा बोलपत्र फारम बिक्री भएका छन् । प्रतिफारम ३ हजार रुपैयाँका दरले बिक्री गर्दा नगरपालिकाले २८ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यी १३ वटा आयोजनाको कुल लागत अनुमान भ्याटसहित १६ करोड २८ लाख ४८ हजार २ सय रुपैयाँभन्दा बढी रहेको नगरपालिकाले जनाएको छ । विवरणअनुसार सबैभन्दा बढी १ सय ६५ वटा र सबैभन्दा कम ५ वटा बोलपत्र फारम बिक्री भएका छन् ।

नगरपालिकाका अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम खरिद प्रक्रिया अघि बढाउँदै आएको भए पनि सरकारी ईजीपी (इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट) पोर्टलमा देखिएको प्राविधिक समस्याका कारण ठेक्का आह्वानमा कठिनाइ भएको थियो । पोर्टलको समस्या समाधान हुन करिब दुई महिना लाग्ने अवस्था भएपछि सरकारी परिपत्रअनुसार हार्डकपीमार्फत बोलपत्र आह्वान गरिएको हो ।

हार्डकपीमार्फत बोलपत्र आह्वान गर्दा गोपनीयता, सुरक्षा तथा मूल्याङ्कन प्रक्रियाको पारदर्शितालाई सुनिश्चित गर्न नगरपालिकाले बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने सम्पूर्ण प्रक्रियालाई भिडियो रेकर्डिङसहित प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

उक्त प्रत्यक्ष प्रसारण नमस्ते ख्वपा टेलिभिजनको फेसबुक पेज तथा सूर्यविनायक नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट गरिएको हो । नगरपालिकाका पूर्वाधार शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेको नेतृत्वमा नगरपालिकाको टोलीले बोलपत्र खोल्ने कार्य गरेको थियो ।

नगरप्रमुख बासुदेव थापाले सार्वजनिक खरिद प्रक्रियामा स्वच्छता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले नयाँ अभ्यास सुरु गरिएको बताएका छन् । यसले नगरपालिकाले अघि सारेको भ्रष्टाचार शून्य सिद्धान्तलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले कार्यक्रम सफल बनाउन नगरवासी, संघसंस्था तथा सम्बन्धित सबै पक्षलाई सहकार्यका लागि आग्रह गरेका छन् ।

नगरपालिकाले बोलपत्रमा सहभागी निर्माण व्यवसायीले थप शुल्क नतिरी आफूले वा अन्य प्रतिस्पर्धीले पेस गरेका बोलपत्रको सफ्टकपी जुनसुकै समयमा प्राप्त गर्न सक्ने व्यवस्था पनि मिलाएको जनाएको छ ।

नगरपालिकाको पूर्वाधार शाखाका अनुसार कार्तिक २० गतेदेखि बोलपत्र खोल्ने प्रक्रिया सुरु गरिएको हो । १३ वटै ठेक्काको बोलपत्र खोल्ने कार्य सम्पन्न गर्न करिब एक महिना लाग्ने जनाइएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?