६ मंसिर २०८३ ,आईतवार

आफ्नै कार्यकर्तामाथि रविको आक्रोश ‘जनताले पत्याए, हामी किन मात्तियौँ ?’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ताहरूलाई स्वअनुशासित हुन सुझाव दिएका छन् । पार्टीले आफ्ना सदस्यहरूलाई पर्याप्त राजनीतिक प्रशिक्षण दिन नभ्याएको स्वीकार गर्दै उनले अब आफैँ अनुशासित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा लामिछानेले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । प्रखर वक्ताका रूपमा परिचित लामिछानेले सम्बोधनका क्रममा रास्वपाका नेता–कार्यकर्ताको ‘भुइँमा खुट्टा नभएको’, ‘मात्तिएको’ र ‘टुप्पिएको’ जस्ता शब्द प्रयोग गर्दै आफ्नो व्यवहार सुधार्न आग्रह गरे । उनको अभिव्यक्तिमा निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्तामा देखिएको उत्साहले अहंकारको रूप लिएकोप्रति असन्तुष्टि झल्किन्थ्यो ।

पार्टीले स्थापनाको छोटो समयमै हासिल गरेको सफलतालाई लामिछानेले ‘सीधै ८ कक्षामा भर्ना’ भएको अवस्थासँग तुलना गरे ।

‘जनताले रास्वपा अब्बल छ, एकैपटक ८ कक्षामा भर्ना गरिदिनुपर्छ भनेर भर्ना गरिदिए। तर, हामीले छुटाएका केही कक्षाहरू नपढीकन फेरि ८ बाट ९ कक्षामा पुगिँदैन,’ लामिछानेले भने, ‘हामी राजनीतिमा एउटा चुनावबाट अर्को चुनावका लागि मात्र आएका होइनौँ। अब छुटेका पाठहरू पढ्नुपर्छ र जान्नुपर्छ।’

उनले जनताले विश्वास गरेर ठूलो जिम्मेवारी दिए पनि पार्टीका नेता–कार्यकर्तामा त्यसअनुरूपको विनम्रता नदेखिएको बताए ।

‘जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन। हामी मात्तिएका छौँ, टुपिएका छौँ,’ सभापति लामिछानेले आफ्नै नेता–कार्यकर्ताप्रति लक्षित गर्दै भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ। यसरी हुँदैन, कुनै हालतमा पनि भुइँ छाड्नु हुँदैन !’

निर्वाचन जितेपछि प्रशासनमाथि दबाब सिर्जना गर्ने वा विगतमा आफूहरूमाथि भएको व्यवहारको बदला लिने प्रयास नगर्न पनि उनले पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए ।

‘हिजो हाम्रा साथीहरूलाई दुःख दिने काम भयो भन्दैमा आज ‘म त घण्टीको मान्छे हुँ’ भनेर प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दियौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ उनले भने, ‘हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।’

‘ऐना देखाउनेलाई नझम्टौँ, आफैँ सच्चिऔँ’

रास्वपाको उदयलाई विश्लेषक तथा समाजका विभिन्न पक्षले ‘हुरी वा आँधी’ का रूपमा व्याख्या गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै लामिछानेले त्यसप्रति पार्टीभित्र देखिने असन्तुष्टिको पनि आलोचना गरे । उनले पार्टीको कमजोरी औँल्याउने सञ्चारमाध्यम, विश्लेषक वा अन्य दललाई दोष दिनुभन्दा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।

‘समाजले हामीलाई ऐना देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने, ‘विश्लेषक, अन्य दल र सञ्चारमाध्यमलाई म दोष दिन चाहन्नँ, यो दोष म लिन चाहन्छु, तपाईंहरूले लिनुपर्छ। अब हामीले त्यो साँघुरो चरित्रबाट माथि उठेर जनताले अपेक्षा गरेको उच्च राजनीतिक चरित्रमा खरो उत्रिनुपर्ने छ।’


प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?