भक्तपुर । नेपालभाषाका चार स्तम्भ मध्ये एक मानिने माष्टर जगतसुन्दर मल्लको १४४औँ जन्मजयन्ती एक विशेष कार्यक्रमका बीच मनाइएको छ ।विराट नेपालभाषा साहित्य गुथिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार, नेपालभाषाका अभियन्ता तथा सामाजिक व्यक्तित्वहरूले खौमा टोलस्थित उहाँको सालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए ।
गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकारहरू कृष्णमोहन जोशी, प्रदीपरत्न शाक्य, सुलोचना सैजू, राजुराम मुनंकर्मि, मिमला शर्मा, ज्ञानकेशरी श्रेष्ठ, सङ्गीता पञ्च, ओमकृष्ण श्रेष्ठ र सुरेन्द्रलाल भुजुले आ–आफ्ना रचना वाचन गरेका थिए ।
नेपाल संवत् १००३ कौलागा त्रयोदशी ९वि सं १९३९ कार्तिक १५ गते भक्तपुरको खौमा टोलमा जन्मनुभएका मल्लले ‘छिट्टै पढ्न र सिकाउन मातृभाषामा पढौँ र पढाऔँ’ भन्ने अभियान चलाउनुभएको थियो । भक्तपुरको खौमा र काठमाडौँको न्हायकं टोलमा बालबालिका भेला पारेर पढाउने कार्य गरेकै कारण उहाँ ‘माष्टरसाहेब’ का रूपमा परिचित हुनुभएको हो ।
अङ्ग्रेजी साहित्यलाई पहिलो पटक नेपालभाषामा अनुवाद गर्ने व्यक्तिका रूपमा चिनिनुहुने मल्लका ‘इसपं दयेकुगु बाखं’, ‘पेटर पार्लि’ अनुदित, ‘गो मयजुया बाखं’, ‘इङ्ग्लिस नेपालभाषा डिक्सनरी’ र ‘इङ्ग्लिस ग्रामर इन पर्वतिया’ लगायतका कृति प्रकाशित छन् ।
उहाँको सम्मानमा काठमाडौँको चागलमा मातृभाषामा अध्यापन हुने ‘जगतसुन्दर ब्वनेकुथि मा. वि सञ्चालनमा रहेको छ भने जन्मस्थान भक्तपुरमा सालिक स्थापना गरिएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार









