८ मंसिर २०८३ ,मंगलवार

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, करिब ८० लाखको क्षति


भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको छैठौं तलामा आज बिहान आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। छैठौं तलामा विगत ५ वर्षदेखि सञ्चालनमा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेश प्रालि’ मा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आगलागीबाट स्पाको मात्रै करिब ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिनुभयो। यस्तै, कम्प्लेक्सको संरचना तथा अन्य सामग्रीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको कम्प्लेक्स सञ्चालक कुमार प्रजापतिले बताउनुभयो।

जुद्ध बारुण यन्त्र भक्तपुर, नेपाली सेनाको रणशेर गण ९ सूर्यविनायक, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ९ ब्यासी र प्रहरी वृत्त थिमिको संयुक्त टोलीले करिब डेढ घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।

बिहानको समय भएकाले घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो।


प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?