भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तराई–मधेसबाट सुरु भएको छठ पर्व अहिले हिमाल, पहाड र तराईका सबै क्षेत्रमा उत्तिकै श्रद्धा र भक्तिभावका साथ मनाइनु नेपाली समाजको सांस्कृतिक एकताको उदाहरण भएको बताउनुभएको छ।
छठ पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताबीचको एकता नै राष्ट्रिय शक्ति र मौलिक पहिचान भएको उल्लेख गर्नुभएको हो।
उहाँले छठ पर्व धार्मिक आस्थामा मात्र सीमित नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्व भएको बताउनुभएको छ।
अस्ताउँदो र उदाउँदो सूर्यको पूजा आराधना गरी निष्ठा, पवित्रता र भक्तिभावका साथ मनाइने छठ पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ छ।
मुख्यमन्त्री थापा मगरले आफ्नो शुभकामना सन्देशमा छठ पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राख्नुका साथै विविधताबीच एकताको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्नुभएको छ।
उहाँले छठ पर्व २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आईतवार









