भक्तपुर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको मध्यपुर थिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मंसिर ४ गते बिहीबार मध्यपुर थिमिस्थित चपाचो पोटरी स्क्वायरमा महोत्सव आयोजना हुन लागेको हो। बिहान ११ बजेदेखि सुरु हुने महोत्सवमा नेपाल र जापानका कला, संस्कृति, संगीत तथा परम्परागत सम्पदाको आदानप्रदान गरिने आयोजकले जनाएको छ।
‘हाम्रो सम्पदाको उत्सव मनाऔँ, परम्पराको आदानप्रदान गरौँ र मित्रतालाई अझ मजबुत बनाऔँ’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमा दुवै देशका परम्परागत संगीत, नृत्य, कला तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिनेछन्।
नेपाल र जापानबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुई देशबीच सांस्कृतिक समझदारी र जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण नगरवासी तथा महानुभावहरूलाई आग्रह गर्नुभएको छ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुवै देशबीच विकास सहयोग, शिक्षा, पर्यटन, प्रविधि तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य हुँदै आएको छ।
यस वर्ष ७०औँ वर्षगाँठका अवसरमा नेपाल र जापानका विभिन्न स्थानमा सांस्कृतिक तथा मैत्रीपूर्ण कार्यक्रम आयोजना भइरहेका छन्। मध्यपुर थिमिमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार









