६ मंसिर २०८३ ,आईतवार

सूर्यविनायकका शाखा अधिकृत पाण्डेको हराएको सुन नेपाल फूलबारीले फेला पारेर गर्‍यो फिर्ता


 

भक्तपुर । नेपाल फूलवारी वेस्ट  पोलुसन कन्ट्रोल प्रालिले फोहोरसँगै फालिएको सुन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । नेपाल फूलबारीका व्यवस्थापक केदार घिमिरेले भेटिएको सुन सूर्यविनायक नगरपालिका २ बालकोटका सल बहादुर पाण्डेको रहेको जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाको सहकारी तथा संघसंस्था समन्वय शाखामा शाखा अधिकृतका रूपमा कार्यरत पाण्डेले सुन हराएको थाहा पाएपछि खोजीका लागि सूर्यविनायक नगरपालिका–४, चित्रपुरस्थित नेपाल फूलवारी वेस्ट पोलुसन कन्ट्रोल सर्भिस प्रालिको फोहोरमैला प्रशोधन तथा वर्गीकरण केन्द्र (ट्रान्सफर स्टेसन) मा पुग्नुभएको थियो । पाण्डेका अनुसार सुन १६/ १७ तोला थियो ।

घरको टेबलमा राखिएको सुनको पोको उनका छोराले झुक्किएर डस्टबिनमा राखेका थिए । घरबाट संकलित फोहोरसँगै सुनसमेत फालिएको हुन सक्ने जानकारी पाण्डेले केन्द्रमा गराएपछि तत्काल खोजी सुरु गरिएको थियो ।

केन्द्रले जीपीएस प्रविधिको सहायताले सुन फालिएको फोहोर बोकेको गाडी पहिचान गरी खोजी गर्दा सुन फेला पार्न सफल भएको  घिमिरेले जानकारी दिनुभयो ।

फेला परेको सुन सम्बन्धित धनी  पाण्डेलाई नै फिर्ता गरिएको छ । फोहोरमैला व्यवस्थापनका क्रममा देखाइएको सतर्कता र सक्रियताका कारण हराएको बहुमूल्य सम्पत्ति सुरक्षित रूपमा फिर्ता गर्न सम्भव भएको घिमिरेले बताउनुभयो ।


प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?