भक्तपुर । निजि तथा आवासीय विपद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले सामाजिक सञ्जालमार्फत निजी विद्यालय, विद्यालय सञ्चालक तथा संस्थालाई लक्षित गरी भइरहेका अपुष्ट आरोप र अपमानजनक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
प्याब्सनले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै आलोचना र असहमति राख्ने अधिकार सबैलाई भए पनि त्यसका नाममा व्यक्तिगत लाञ्छना लगाउने, संस्थाको प्रतिष्ठामा आँच पुर्याउने तथा मर्यादाविपरीत अभिव्यक्ति दिने कार्य उचित नहुने जनाएको छ।
निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा लामो समयदेखि योगदान गर्दै आएको प्याब्सनको भनाइ छ। राज्यको सीमित स्रोतसाधनका बीच निजी विद्यालयहरूले आफ्नै लगानी, श्रम र जोखिम उठाउँदै शिक्षा क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै त्यस्ता योगदानलाई अवमूल्यन नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
विद्यालय सञ्चालकहरू शिक्षक तथा कर्मचारीको पारिश्रमिक, सेवासुविधा, सामाजिक सुरक्षा र शैक्षिक गुणस्तरप्रति जिम्मेवार रहेको उल्लेख गर्दै प्याब्सनले शिक्षा क्षेत्रका समस्या तथा असहमतिलाई संवाद र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। सार्वजनिक रूपमा आरोप लगाउने र अपमान गर्ने प्रवृत्तिले समस्या समाधानभन्दा झन् विवाद बढाउने प्याब्सनको धारणा छ।
प्याब्सनले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा बोल्ने र सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले तथ्य, विवेक र व्यावसायिक मर्यादा कायम गर्नुपर्ने जनाएको छ। असहमति राख्न पाइने भए पनि कसैको प्रतिष्ठा र संस्थागत सम्मानमाथि प्रहार गर्ने छुट नहुने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहीबार









