काठ्माण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेका छन्। एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने योजनासमेत उनले सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत उक्त घोषणा गर्दै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनका अनुसार प्रस्तावित क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै उनले आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन्।
प्रधानमन्त्री शाहले विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदानलाई घरेलु मैदानका रूपमा उल्लेख गरेका छन्।
त्यस्तै, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्।
एनपीएलको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन्।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार









