काठमाडौं । घरेलु क्रिकेटले उचाइ लिँदै गर्दा नेपाली फुटबल भने आन्तरिक विवाद र संस्थागत किचलोमै रुमलिएको छ। फुटबल क्षेत्रको विवाद समाधान गरी संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवाज उठिरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहितका पदाधिकारीसँग विभिन्न विषयमा जवाफ माग्ने निर्णय गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहितका पदाधिकारीलाई विभिन्न विषयमा पत्राचार गर्ने निर्णय गरेको छ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली फुटबल क्षेत्रमा देखिएका विवाद, आर्थिक अनियमितताको आरोप तथा संस्थागत सुशासनसँग सम्बन्धित विषयमा छलफल गर्दै आवश्यक निर्णय गरेको हो।
बैठकले एन्फाको वर्तमान अवस्थाका कारण नेपाली फुटबल परिवारमा अन्योल सिर्जना भएको निष्कर्ष निकाल्दै संस्थालाई नियमित प्रक्रियामा सञ्चालन गर्न र फुटबलको गरिमा कायम राख्न सम्बन्धित पदाधिकारीसँग आवश्यक जानकारी तथा जवाफ माग्ने निर्णय गरेको छ।
बैठकले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पत्राचार गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल, अदालत तथा अनुसन्धान गर्ने निकायमा पुगेका विषयबारे कार्यसमितिलाई जानकारी गराउन र आवश्यक प्रक्रियागत सहयोग गर्न उनीहरूलाई पत्राचार गरिने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, एन्फा सचिवालय प्रमुखविरुद्ध नै अभियोजन भएको अवस्थामा संघको दैनिक प्रशासनिक तथा अन्य कार्य सञ्चालन गर्न सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।
फिफा, एएफसी, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट एन्फालाई प्राप्त पत्राचारको अवस्थाबारे आवश्यक समन्वय गर्न उपाध्यक्ष दीपक खातीको संयोजकत्वमा समिति गठन गरिएको छ।
त्यसैगरी, एन्फा निर्वाचनका विषयमा फिफा, एएफसी र नेपाल सरकारबीच भौतिक उपस्थितिमा बैठक राख्न पहल गर्न तथा आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।
बैठकले दिवंगत दिपेन्द्र धिमालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, फिफा यू–२५ वर्ल्ड फुटबल फेस्टिभलमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडीलाई प्रोत्साहन पुरस्कार तथा सम्मानका लागि नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
बैठक एन्फा विधान २०७७ को धारा ३९ ९२० बमोजिम कार्यसमितिका एक तिहाइ सदस्यको आह्वानमा कात्तिक १३ गते बसेको थियो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा १२ जना केन्द्रीय सदस्य सहभागी थिए।
प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार









