हेलो, अनुप जी बोल्नुभएको हो ?
हो।
तपाईंको समस्या रहेछ नि पहिरोको समस्या। त्यो कहाँनिर हो भन्नुस् तरु त्यसको लोकेसन कहाँनिर हो ?
यो संवाद बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र एक जना नागरिकबीचको हो। ललितपुरको भट्टेडाँडा नजिकका ती नागरिकले आफ्नो क्षेत्रमा पहिरोका कारण उत्पन्न जोखिम र त्यसबाट स्थानीय बासिन्दाले भोग्नुपरेको समस्याबारे मुख्यमन्त्रीसमक्ष गुनासो राख्दै थिए। मुख्यमन्त्री थापाले नागरिकको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्ने आश्वासन दिएका छन्।
जनताका समस्या जनताकै बीचमा पुगेर मात्र थाहा पाउन सकिन्छ र उनीहरूसँगकै सहकार्यमा ती समस्या समाधान गर्न सकिन्छ भन्ने मान्यता मुख्यमन्त्री थापाको छ। यही मान्यताका साथ थापाको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेको छ।
जनताको समस्या सुन्ने, प्रत्यक्ष संवाद गर्ने र समाधानका लागि जवाफदेही भएर काम गर्ने उद्देश्यसहित प्रदेश सरकारले व्यवहारमै कार्यक्रम कार्यान्वयन गर्न थालेको छ। ठूलो स्वर, चिच्याहट र आरोपमुखी राजनीतिभन्दा माथि उठेर हरेक नागरिकले राज्यप्रतिको अपनत्व महसुस गर्न सकून् भन्ने उद्देश्यका साथ नागरिकका समस्या, गुनासा र सुझावलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने प्रयास भइरहेको मुख्यमन्त्री थापाले बताउनुभयो ।

अब हरेक नागरिकले आफ्ना समस्या, गुनासा तथा सुझावहरू प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसमक्ष राख्न सक्नेछन्। प्रदेश सरकार नागरिकका आवाज सुन्ने मात्र होइन, ती समस्याको समाधानका लागि जिम्मेवार भएर काम गर्ने प्रतिबद्धतासहित अघि बढेको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार









