६ मंसिर २०८३ ,आईतवार

बजेट विनियोजन भएका योजनाको कार्यान्वयनमा ढिलाइ, कांग्रेस सूर्यविनायकले माग्यो मुख्यमन्त्रीको पहल


भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिका तथा बागमती प्रदेशभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटन पूर्वाधार विकासका योजनाहरू कार्यान्वयनमा भइरहेको ढिलाइप्रति बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको ध्यानाकर्षण गराएको छ।

समितिले मुख्यमन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै बजेट विनियोजन भइसकेका धार्मिक, सांस्कृतिक तथा पर्यटन पूर्वाधारसम्बन्धी योजनाहरूको कार्यादेश तत्काल जारी गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन माग गरेको हो।

मन्त्रालयको पुनर्संरचना, पर्यटन विकास आयोजनाको कार्यालय स्थानान्तरण तथा प्रशासनिक र प्राविधिक प्रक्रियामा भएको ढिलाइका कारण बजेट विनियोजन भएका योजनाहरूको कार्यान्वयन प्रभावित भएको समितिको भनाइ छ।

समितिले योजनाहरूको कार्यादेश तत्काल जारी गर्न, रोकिएका प्रशासनिक तथा प्राविधिक प्रक्रिया शीघ्र सम्पन्न गर्न, सम्बन्धित मन्त्रालय र कार्यालयबीच आवश्यक समन्वय गरी स्पष्ट कार्यतालिका निर्धारण गर्न माग गरेको छ। त्यसैगरी, प्राविधिक जनशक्ति व्यवस्थापन, लागत अनुमान तथा खरिद प्रक्रिया समयमै पूरा गर्न पनि समितिले आग्रह गरेको छ।

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति इन्जिनियर विष्णुराम थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा मन्त्रालयको पुनर्संरचना वा प्रशासनिक व्यवस्थापनका कारण जनतासँग प्रत्यक्ष जोडिएका विकासका योजना प्रभावित हुन नदिन मुख्यमन्त्रीसमक्ष आवश्यक निर्देशन र समन्वयका लागि अनुरोध गरिएको छ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?