६ मंसिर २०८३ ,आईतवार

डिडिसीका तत्कालीन महाप्रबन्धक झासहित ८ जना पक्राउ, १२ करोडभन्दा बढी गैरकानुनी लाभ लिएको आरोप


 

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) का तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्। आपराधिक विश्वासघात तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले संस्थानका प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख झासहित उच्च तहका ८ कर्मचारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले आपसी मिलेमतोमा संगठित सञ्जाल निर्माण गरी विभिन्न समूह खडा गरेर संस्थानलाई हानि नोक्सानी पुर्‍याएका थिए। उनीहरूले संस्थानबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी लाभ लिएको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सञ्जीव झासहित तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा कार्यरत जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज तथा हाल डिडिसी केन्द्रीय कार्यालय लैनचौरमा कार्यरत मनहरी शर्मा रहेका छन्।

त्यस्तै, चनौली चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्रमा कार्यरत रामकेवल राय, बागमती धुलो दूध कारखाना हेटौँडामा कार्यरत भर्पाइ पदका कर्मचारी जितेन्द्रकुमार यादव, नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रका दैनिक ज्यालादारी कर्मचारी शिवनन्दन राय र चितवन माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारी पक्राउ परेका छन्।

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?