६ मंसिर २०८३ ,आईतवार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि प्रभाव, एकैदिन तोलामा ८ हजार ३ सय रुपैयाँले गिरावट


 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । आइतबार एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुनको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारको मूल्यले प्रत्यक्ष प्रभाव पार्छ । नेपालले आफ्नो मागअनुसारको अधिकांश सुन विदेशबाट आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा वा घट्दा त्यसको असर नेपाली बजारमा पनि पर्छ । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमा निर्धारण हुने सुनको मूल्य र नेपाली रुपैयाँसँग डलरको विनिमय दरले यहाँको सुनको लागत निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसका अतिरिक्त भन्सार महसुल तथा आयातसम्बन्धी अन्य खर्चले पनि अन्तिम मूल्यमा प्रभाव पार्छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले घटेपछि त्यसको असर नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?