भक्तपुर । इतिहासविद् तथा संस्कृतिकर्मी हरिराम जोशी ‘शंखधर सम्मान ११४७’ बाट सम्मानित हुनुभएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा जोशीलाई नगद एक लाख ११ हजार १११ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेपाल संवत्को महत्त्व उजागर गर्न तथा संस्कृति संरक्षण र संवर्द्धनमा पुर्याउनुभएको योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी, संस्थागततर्फ शंखधर साख्वाः प्रतिमा निर्माण समिति, चरिकोट, दोलखालाई पनि नगद एक लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गरिएको छ । उक्त सम्मान समितिका अध्यक्ष राजेन्द्र मानन्धरले ग्रहण गर्नुभएको थियो ।

प्रतिष्ठानले हरेक वर्ष नेपाल संवत्को प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ । विगतका वर्षहरूमा ११ हजार १४६ रुपैयाँ प्रदान गरिँदै आएकोमा यस वर्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल सरकारको तर्फबाट सम्मान रकमको व्यवस्था गरिएको हो ।
उक्त सम्मान सभामुख डोलप्रसाद अर्यालले प्रदान गर्नुभएको थियो । कार्यक्रममा शंखधर बुलेटिनको समेत विमोचन गरिएको थियो ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार









