६ मंसिर २०८३ ,आईतवार

सरकारको चलाखीपूर्ण कदमः ‘जिम्मेवारी हेरफेर’ भन्दै आईजीपी दानबहादुर कार्की पदमुक्त


काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो । केसीको बढुवा आजैदेखि लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव तथा परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको हो ।

कार्कीलाई उक्त पदमा खटाउने निर्णय भएको उनले बताए ।

पत्रकारमाथि धरपकड भएको घटनामा कार्कीको समेत संलग्नता रहेको र प्रधानमन्त्री सचिवालयबाट पत्रकार पक्राउ गर्न निर्देशन आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला उनलाई आईजीपी पदबाट हटाउने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यद्यपि, प्रवक्ता पोखरेलले कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी मात्र फेरबदल गरिएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?