दुर्गा भवानीले महिषासुरको वध गरेको धार्मिक आख्यानसँग जोडिएको दसैँ पर्वमा असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयलाई विशेष महत्त्व दिइन्छ। जात्रामा बलि दिइएको राँगाको टाउको प्रदर्शन गर्नु र हातहतियारसहित युद्धकला देखाउनु यही विजयको उल्लास तथा परम्परागत धार्मिक मान्यतासँग जोडिएको छ।
मध्यपुरथिमि । बडादसैँको विजयादशमीपछिको पापाङ्कुशा एकादशीका अवसरमा मध्यपुरथिमिमा मल्लकालीन युद्धकला, राजपरम्परा र धार्मिक आस्थाको झल्को दिने ऐतिहासिक ‘खाँ पिहाँवइगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ।
तत्कालीन थिमि राज्यको राजदरबारका रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवचलगायत परम्परागत हातहतियार निकालेर नगरका विभिन्न टोलमा युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको हो। सेतो जामा लगाएका गुठीयारले हातहतियारसहित मल्लकालीन सैनिकको झल्को दिने गरी युद्ध अभ्यास र कला प्रदर्शन गरेका थिए।
यो जात्रा केवल धार्मिक उत्सवमा सीमित छैन। यसले मध्यपुरथिमिको पुरानो राज्यव्यवस्था, दरबारसँग जोडिएका समुदायको भूमिका र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परालाई समेत जीवन्त बनाएको छ।
दरबारबाट निस्कन्छन् मल्लकालीन सैनिकको झल्को दिने जात्रालु
खाँ पिहाँवइगु जात्राको मुख्य आकर्षण तत्कालीन राजदरबारबाट हातहतियारसहित निस्कने जात्रालु र उनीहरूले प्रदर्शन गर्ने युद्धकला हो। जात्रामा सहभागी गुठीयारले खड्ग, तरबार, ढाल र भालालगायतका हतियार बोकेर नगर परिक्रमा गर्दै पुरानो युद्धशैलीको झल्को दिन्छन्।
संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागितामा जात्रा सञ्चालन हुँदै आएको छ। यसले तत्कालीन थिमि राज्यको प्रशासनिक र सामाजिक संरचनाको सम्झना गराउँछ।
मल्लकालमा लाय्कु दरबार थिमि राज्यको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको थियो। त्यसबेला दरबारसँग सम्बन्धित विभिन्न समुदायले प्रशासन, सैनिक गतिविधि, सांस्कृतिक कार्य तथा जात्रा सञ्चालनमा आ–आफ्नो भूमिका निर्वाह गर्थे। अहिलेको जात्रामा ती समुदायको सहभागिताले ऐतिहासिक जिम्मेवारी र परम्परालाई निरन्तरता दिएको देखिन्छ।
माथिल्लो र तल्लो टोल हुँदै नगर परिक्रमा
लाय्कु दरबारबाट निकालिएको जात्रालाई दुई छुट्टाछुट्टै मार्गमा प्रदर्शन गरिएको थियो। थहनेया टोल अर्थात् माथिल्लो टोलतर्फ इनाए टोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल अर्थात् तल्लो टोलतर्फ दथुटोल हुँदै बालकुमारीसम्म जात्रा पुर्याइएको थियो।
जात्राका क्रममा महानवमीमा तलेजु भवानीलाई चढाइएको बलिको खःम्ये ९राँगा० को टाउको, कोतभित्र अवस्थित देवता तथा दरबारको राजदण्डसमेत नगर परिक्रमा गराइएको पमा नाइके श्रेष्ठले जानकारी दिनुभयो।
जात्रामा नायः पःमां, कर्माचार्य, जोशी, कुटु, प्याथः ९प्रजापति० र खड्गी समुदायको प्रत्यक्ष सहभागिता रहने गर्दछ। समुदायगत जिम्मेवारी र परम्परागत भूमिकासहित सञ्चालन हुने यस जात्राले मध्यपुरथिमिको सांस्कृतिक पहिचानलाई निरन्तरता दिएको छ।
महिषासुर वधको प्रतीक र विजयको सन्देश
खाँ पिहाँवइगु जात्राको धार्मिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। महानवमीको राति तलेजु भवानीलाई महिषासुर राक्षसको प्रतीकका रूपमा बलि दिइएको खःम्येको टाउको जात्राका क्रममा प्रदर्शन गरिन्छ।
दुर्गा भवानीले महिषासुरको वध गरेको धार्मिक आख्यानसँग जोडिएको दसैँ पर्वमा असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयलाई विशेष महत्त्व दिइन्छ। जात्रामा बलि दिइएको राँगाको टाउको प्रदर्शन गर्नु र हातहतियारसहित युद्धकला देखाउनु यही विजयको उल्लास तथा परम्परागत धार्मिक मान्यतासँग जोडिएको छ।
यसरी खाँ पिहाँवइगु जात्राले धार्मिक आस्था, वीरताको प्रतीक र मल्लकालीन सैनिक संस्कृतिलाई एउटै उत्सवमा समेटेको छ।
कुभिन्डोमा मार हानेपछि जात्रा सम्पन्न
जात्राको अन्तिम चरणमा बालकुमारीस्थित कालो ढुङ्गाको प्वालमा राखिएको भुइँफसी अर्थात् कुभिन्डोमा पमा नाइके श्रेष्ठले मार हानेर बलि दिने परम्परा छ। कुभिन्डोमा मार हानेर जात्रा सम्पन्न गरिने भएकाले यसलाई ‘भुइँफसी पालेगु जात्रा’ पनि भनिन्छ।
बलि दिइएको कुभिन्डोलाई प्रसादका रूपमा ग्रहण गरे रोगव्याधिबाट बच्न सकिने जनविश्वास छ। यही विश्वासका कारण जात्राको अन्तिम चरणमा कुभिन्डोको प्रसाद लिन स्थानीयवासीको भीड लाग्ने गर्दछ।
यस जात्राको अर्को महत्त्वपूर्ण पक्ष महानवमीमा बलि दिइएको राँगाको टाउकोसँगै हिकोँचा अर्थात् रगत भरिएको घ्याम्पासमेत प्रदर्शन गरिने परम्परा हो। जात्रासँग सम्बन्धित धार्मिक विधि, पूजा र सामुदायिक भोजले यसलाई केवल नगर परिक्रमा नभई समुदायको साझा सांस्कृतिक अनुष्ठानका रूपमा स्थापित गरेको छ।
पुस्तौँदेखि जोगिएको जीवित सांस्कृतिक सम्पदा
मध्यपुरथिमिको खाँ पिहाँवइगु जात्रा मल्लकालीन राज्यव्यवस्था र सैनिक परम्पराको स्मरण गराउने महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो। यसमा प्रयोग हुने परम्परागत हातहतियार, दरबारसँग सम्बन्धित देवदेवी, राजदण्ड, विभिन्न समुदायको सहभागिता र कुभिन्डोमा मार हान्ने विधिले जात्राको विशिष्टता झल्काउँछन्।
आधुनिक समयमा पनि यस्ता जात्रा निरन्तर सञ्चालन हुनु भनेको पुराना धार्मिक विधि मात्र जोगाउनु होइन, स्थानीय इतिहास, सामुदायिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु पनि हो।
जात्रा अवलोकन गर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै विभिन्न स्थानबाट आएका सर्वसाधारणको ठूलो भीड लागेको थियो। मल्लकालीन युद्धकला, धार्मिक आस्था र सामुदायिक एकताको सन्देश बोकेको खाँ पिहाँवइगु जात्राले मध्यपुरथिमिको ऐतिहासिक तथा सांस्कृतिक वैभवलाई पुनः उजागर गरेको छ।
प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहीबार









