काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमै विश्वस्तरीय तथा अर्बौं डलर मूल्यांकन भएका ‘ग्लोबल युनिकर्न’ कम्पनी स्थापना गर्न सक्ने वातावरण निर्माणका लागि नीतिगत, कानुनी तथा कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपालको सूचना प्रविधि (आईटी) तथा गेमिङ क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाएको बताएका हुन्।
नेपाली डेभलपरहरूले निर्माण गरेका डिजिटल गेमले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा सक्रिय युवा उद्यमीहरूसँग छलफल गरी उनीहरूले भोग्दै आएका समस्या र चुनौती बुझ्ने काम गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नेपालीले निर्माण गरेका लुडो गेम २० करोडभन्दा बढी पटक डाउनलोड भएको छ भने कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ। यस्ता सफलताले नेपाली गेम डेभलपमेन्ट क्षेत्रको सम्भावना उजागर गरेको उनको भनाइ छ।
उनले गेमिङ क्षेत्रलाई थप व्यवस्थित, सहज र प्रतिस्पर्धी बनाउँदै उद्योगकै रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार तथा सहजीकरण गरिने बताएका छन्।
त्यस्तै, नेपालको आईटी उत्पादन तथा सेवा निर्यात सम्भावनायुक्त चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीले अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा आम्दानी गर्न, लगानी विस्तार गर्न तथा पुनः लगानी गर्न सक्ने वातावरण बनाइने प्रतिबद्धता जनाएका छन्।
यसका लागि कर प्रणालीलाई सहज बनाउने, नीतिगत अवरोध हटाउने तथा अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित विद्यमान व्यवस्थाको पुनरावलोकन गरिने उनले बताएका छन्।
डिजिटल प्रविधि तथा गेमिङ उद्योगको समग्र विकासका लागि सरकारले गेम जाम, स्टार्टअप कार्यक्रम र ह्याकाथनजस्ता गतिविधिमा लगानी गर्ने योजना पनि अघि सारेको छ।
यसका साथै नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया तथा समन्वयमार्फत आईटी उत्पादन र गेमिङ उद्योगलाई अनुकूल हुने वातावरण निर्माण गरिने प्रधानमन्त्री शाहले बताएका छन्।
सरकारको यो पहल कार्यान्वयनमा आए नेपालमा प्रविधिमा आधारित उद्यमशीलता, रोजगारी सिर्जना तथा विदेशी बजारमा नेपाली डिजिटल उत्पादनको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार









