६ मंसिर २०८३ ,आईतवार

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, चौतर्फी आलोचनापछि आईजीपीको प्रतिबद्धता


काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाले चौतर्फी आलोचना भइरहेका बेला नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीको स्वतन्त्र पत्रकारितामा कुनै पनि बाधा नपुग्ने गरी सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले प्रहरी संगठनले सञ्चारकर्मीबाट सधैँ निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् ।

उनले विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षबीच अभूतपूर्व सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

कार्कीले लेखेका छन्, “यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ । साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।”

 

उनले विपद्बाट जनधनको सुरक्षा गर्ने आफ्नो मूल दायित्व पूरा गर्न नेपाल प्रहरी सधैँझैँ दत्तचित्त भएर क्रियाशील रहनेसमेत उल्लेख गरेका छन् ।

यसरी समाचार कक्षमै पुग्यो प्रहरी

आईजीपी कार्कीको पछिल्लो अभिव्यक्ति सार्वजनिक हुनुअघि शुक्रबार काठमाडौंका विभिन्न सञ्चारगृहमा प्रहरीले गरेको हस्तक्षेपले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको थियो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले राजीनामा दिन दबाब दिएको तथा उनीसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार र सामग्री प्रकाशित गरेपछि प्रहरीले समाचारको स्रोत र विषयवस्तुबारे सोधपुछ गर्न भन्दै पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो ।

घटनाक्रमअनुसार, शुक्रबार सादा पोशाकमा खटिएका प्रहरी नेपाल प्रेसको बानेश्वरस्थित कार्यालय पुगेका थिए । समाचार कक्षमा काम गरिरहेका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्‍याएको थियो ।

त्यसपछि मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पनि अनामनगरस्थित कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । डीएनखबरका पत्रकार धीरज बस्नेतसमेत प्रहरी नियन्त्रणमा परेका थिए ।

यसैबीच, सादा पोशाकका चारदेखि पाँच जनाको प्रहरी टोली नयाँ पत्रिका दैनिकको पुतलीसडकस्थित कार्यालय पुगेको थियो । पत्रकार नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै खोजी गरेको प्रहरी टोलीले उनी कार्यालयमा नभेटिएपछि सम्पादक खगेन्द्र पन्तसँग लामो समय छलफल गरेको थियो । मैनालीलाई नियन्त्रणमा लिन प्रहरीले घण्टौँ दबाब दिएको समाचार सम्पादक पन्तले बताएका थिए ।

त्यस्तै, दियोपोस्ट अनलाइनको कार्यालयमा समेत प्रहरी पुगेको थियो । त्यहाँ प्रधान सम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाबारे प्रहरीले सोधखोज गरेको विवरण सार्वजनिक भएको थियो ।

पक्राउपछि चौतर्फी विरोध, सबै पत्रकार रिहा

समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको घटनापछि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, विभिन्न राजनीतिक दल, नागरिक समाज तथा पत्रकारसम्बद्ध संघसंस्थाले विरोध जनाएका थिए ।

प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्य प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथिको गम्भीर आघात भएको भन्दै आपत्ति जनाएको थियो । काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधार पुष्टि हुन नसके नियन्त्रणमा लिइएकालाई तत्काल रिहा गर्न माग गरेको थियो ।

घटनाले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेपछि प्रधानमन्त्री कार्यालय तथा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार पक्राउबारे अनभिज्ञता प्रकट गरेका थिए ।

चौतर्फी विरोध र दबाबपछि शुक्रबार राति सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका थिए ।

समाचारको स्रोत खोज्ने क्रममा पत्रकारलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनले अपनाएको प्रक्रिया र समाचार कक्षमा प्रहरी प्रवेश गराइएको विषयले अहिले पनि प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रहरीको जवाफदेहितामाथि बहस सिर्जना गरेको छ ।

यही घटनाको पृष्ठभूमिमा आईजीपी कार्कीले सञ्चारकर्मीको निष्पक्ष र तथ्यपूर्ण पत्रकारिताको अपेक्षा गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने प्रतिबद्धता जनाएका हुन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?