काठमाडौं । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेबीच ७४ रनको साझेदारी भएपछि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पोखराले भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै हार बेहोरेको छ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले नै टोलीलाई जितसम्म पुर्याए। उत्कृष्ट प्रदर्शन गरेका उनी प्लेयर अफ द म्याच घोषित भए।
इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। दीपेन्द्र र इशानले ९ ओभरभित्र ७४ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। इशान आउट भएपछि क्रिजमा आएका सेरफन रदरफोर्डले दोस्रो बलमै छक्का प्रहार गरे। उनी ४ बलमा ८ रनसहित अविजित रहे।
सुदूरपश्चिमको सुरुआत भने राम्रो हुन सकेन। ओपनर विनोद भण्डारी पहिलो बलमा चौका प्रहार गरेपछि अर्को बलमा बोल्ड भए। स्कट म्याकमलेन १२ बलमा २२ रन बनाएर एलबीडब्लू आउट भए भने सैफ जैब १५ रनमा रनआउट भए। पोखराका धनञ्जय लक्षण, मेहदी हसन र सकिब अल हसनले एक–एक विकेट लिए।
यसअघि पोखराका लागि बंगलादेशी ओपनर माहेदी हसनले सर्वाधिक ३२ रन बनाए। उनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे भने सकिब अल हसनले १४ रन बनाए।
सदीरा समरविक्रमा ८, धनञ्जय ११ र किरण ठगुन्ना १ रनमा आउट भए। अर्जुन घर्तीमगरले २५ बलमा अविजित २४ रन बनाए। उनले इनिङ्सको अन्तिम ओभरमा स्कट कुग्लेनविरुद्ध २ चौका र १ छक्का प्रहार गरे। विपिन खत्री ५ रनमा अविजित रहे।
सुदूरपश्चिम पछिल्ला दुई संस्करणमा फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन। पोखरा एभेन्जर्स भने एनपीएलका अघिल्ला दुवै संस्करणमा प्लेअफमा पुग्न असफल भएको थियो।
प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार









