काठमाडौं । प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै भारतको राजधानी नयाँ दिल्लीमा विपक्षी दलहरूले आयोजना गरेको विशाल प्रदर्शनमा दशौँ हजार मानिस सहभागी भएका छन् ।
विपक्षी गठबन्धन ‘इन्डिया’ (INDIA Bloc) ले आयोजना गरेको उक्त प्रदर्शनको नेतृत्व राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेस पार्टीले गरेको छ । दिल्लीको मध्यभागमा रहेको रामलीला मैदानमा प्रदर्शन भइरहेको छ । उक्त मैदान सांस्कृतिक कार्यक्रम तथा राजनीतिक विरोध प्रदर्शनका लागि परिचित छ ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा देखाइएको दृश्यहरूमा राहुल गान्धी अन्य विपक्षी नेताहरूसँग खुला छत भएको जिपमा सवार हुँदै प्रदर्शनस्थलतर्फ गएको देखिएको छ । जेनजी नेतृत्वको दबाब समूह ‘कक्रोच जनता पार्टी’ (CJP) ले समेत प्रदर्शनलाई समर्थन गर्ने घोषणा गरेको छ । यद्यपि, उक्त समूहका नेताहरू प्रदर्शनस्थलमा देखिएका छैनन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । रामलीला मैदान आसपास हजारौँको सङ्ख्यामा प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको छ ।
आइतबारको यो प्रदर्शन भारतमा मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई लिएर विपक्षी दलहरूले गरिरहेको विरोधको पछिल्लो कार्यक्रम हो । उक्त प्रक्रियाअन्तर्गत भारतको प्रारम्भिक मतदाता नामावलीबाट १३ करोड नाम हटाइएको छ ।
भारतको निर्वाचन आयोग (ECI) ले मृतक तथा आफ्नो दर्ता भएको ठेगाना छाडेर अन्यत्र बसाइँ सरेका व्यक्तिहरूको नाम हटाई मतदाता नामावली अद्यावधिक गर्ने उद्देश्यले उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ ।
तर, विपक्षी दलहरूले भने ‘विशेष सघन पुनरावलोकन’ (Special Intensive Revision–SIR) नाम दिइएको उक्त प्रक्रियाबाट योग्य मतदाताको नामसमेत हट्न सक्ने र यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने आरोप लगाएका छन् ।

विपक्षी दलहरूले प्रमुख निर्वाचन आयुक्त र भाजपामाथि ‘भोट चोरी’ गरेको आरोप लगाउँदै आएका छन् । यद्यपि, भाजपा र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन् ।
गत सेप्टेम्बरमा द इन्डियन एक्सप्रेस पत्रिकाले गरेको अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक भएपछि यो विवाद थप चर्किएको थियो । उक्त रिपोर्टमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले अन्य दुई निर्वाचन आयुक्तको सहमतिबिना नै पुनरावलोकन प्रक्रियासम्बन्धी महत्त्वपूर्ण निर्णय लिएको उल्लेख गरिएको थियो । ती दुई आयुक्तले एक दर्जनभन्दा बढी पटक निर्णयप्रति आपत्ति जनाएका थिए ।
यस विषयमा निर्वाचन आयोगले भने कुनै पनि संस्थामा विचार र मतभिन्नता हुनु सामान्य रहेको र त्यसले संस्थाको कामकारबाहीमा असर नपार्ने प्रतिक्रिया दिएको थियो ।
तर, मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई लिएर विपक्षी दल, सीजेपी तथा विद्यार्थी समूहहरूले दिल्लीसहित भारतका विभिन्न सहरमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
यसअघि शनिबार इन्डिया गठबन्धनका नेताहरूले दिल्लीस्थित कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रतीकात्मक महाभियोग प्रक्रिया सञ्चालन गरेका थिए ।
सन् २०२३ मा गठन भएको ‘इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ एलायन्स’ (INDIA) भारतका विपक्षी राजनीतिक दलहरूको गठबन्धन हो । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (NDA) लाई चुनौती दिन यो गठबन्धन गठन गरिएको हो ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार









