भक्तपुर । ठेक्का सम्झौताअनुसार भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस मागेको आरोपमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित ३ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष स्टिङ अपरेसन सञ्चालन गरी उनीहरूलाई ३३ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारका अनुसार मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित एक विकास आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि ठेकेदारलाई नियमअनुसार भुक्तानी गर्नुपर्ने रकम (बिल पास) रोक्दै कमिसन माग गरिएको थियो। बाँकी किस्ता तथा मोबिलाइजेसन फन्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा समेत सहयोग गर्ने भन्दै घुस मागिएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेले ठेकेदारसँग माग गरिएको रकम आफैँ नगद नबुझी आफ्ना आफन्त तथा सहयोगीमार्फत नगरपालिकाको कार्यालयमै बोलाएर बुझ्न लगाउने र गाडीमार्फत बाहिर पठाउने योजना बनाएको आरोप छ। घिमिरेले भने उक्त रकम लिने कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका थिए।
घुस रकम व्यवस्थापन तथा ओसारपसारमा प्रयोग गरिएको आशंकामा अख्तियारले बा ०२–०३५ च २६८७ नम्बरको टाटा ईभी गाडीसमेत नियन्त्रणमा लिएको छ।
यस प्रकरणमा अख्तियारले प्राप्त सूचनाका आधारमा विशेष स्टिङ अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा ३३ लाख रुपैयाँ घुस रकम बरामद गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेसहित तीन जनालाई पक्राउ गरिएको आयोगले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा राखेर बयान लिने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्य भइरहेको छ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम अनुसन्धानका क्रममा स्वतः निलम्बन गरिएको छ।
अख्तियारले बरामद भएको ३३ लाख रुपैयाँलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो तथा जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार









