भक्तपुर । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा भक्तपुरको नयाँ ठिमीस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरी नयाँ वर्षको स्वागत गरिएको हो । आज मंगलबारदेखि नेपाल संवत् ११४७ सुरु भएको छ ।
साख्वाःको प्रतिमामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, गृहमन्त्री सुदन गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रुकेश रञ्जित, प्रतिनिधिसभा सदस्य तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष ज्ञानीराम श्रेष्ठलगायतले माल्यार्पण गर्नुभएको थियो ।
नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिलाउन भएका आन्दोलनहरूको सम्मान तथा ऋणमा डुबेका नेपालीहरूको ऋणमोचन गरिदिने महान् व्यक्तित्व शंखधर साख्वाःप्रति श्रद्धा र सम्मान व्यक्त गर्न हरेक वर्ष नेपाल संवत्को पहिलो दिन उहाँको प्रतिमामा माल्यार्पण गर्ने परम्परा रहँदै आएको छ ।



प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार









