६ मंसिर २०८३ ,आईतवार

भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन


बाजुरा । धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका भ्रमणमा गएका दुई जना पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की  सम्पर्क विहिन भएका हुन् । बडिमालिका माताको दर्शन गरेर फर्किने क्रममा उनिहरु हराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। टोलीका तीन जना भने बडीमालिका पुगेर फर्किसकेका छन्।

चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरी फर्कने क्रममा शुक्रबारदेखि मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि सागर कार्कीसँग पनि शुक्रबार रातिदेखि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक शाहीका अनुसार सागरले फोन सम्पर्कका क्रममा बडीमालिकाबाट फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी गराएका थिए। सो क्षेत्रमा भारी हिमपात भएकाले मनिष हराएको र सागरसमेत तल झर्न नसकी अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान छ।

दुवै जनाको मोबाइल फोन बन्द रहेकाले उनीहरूको अवस्था यकिन हुन सकेको छैन। हिमपातका कारण खोज तथा उद्धारमा कठिनाइ हुने देखिएपछि जिल्ला प्रहरी कार्यालयले मार्तडीबाट प्रहरी टोली पठाउने तयारी गरेको जनाएको छ।

शुक्रबारदेखि जिल्लामा भइरहेको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित हुनसक्ने प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?